काठमाडौं । रुकुम पश्चिम स्थायी घर भएका बमबहादुर विकले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् ।
उनले २०८१ साल जेठ ६ गते (१९ मे २०२४) बिहान ५ बजेर ५७ मिनेटमा सगरमाथामा पाइला टेकेका हुन् । खानीखोला गाउँपालिका काभ्रेमा लेखापालको जिम्मेवारीमा रहेका उनले सगरमाथामा खानीखोला गाउँपालिका र सानोभेरी गाउँपालिका रुकुम पश्चिमको लोगो अंकित ब्यानर फहराएका छन् । यससँगै उनले ‘यात्रीको यात्रा’ नामक ब्यानर पनि सगरमाथामा फहराएका छन् । विकले यसअघिका र यो यात्रालाई ‘यात्रीको यात्रा’ नाम दिएका थिए ।
बमबहादुर विकले सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका छन् । काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका उनले ६ जेठको बिहान ५:५७ बजे सगरमाथामा पाइला टेकेका हुन् ।
उनले यसअघि दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवा र अफ्रिकाको अग्लो चुचुरो किलिमान्जारो, किलर माउन्टेनका रूपमा परिचित मनास्लु हिमाल र लोबुचे पिकको समेत सफल आरोहण गरिसकेका छन् ।
सगरमाथा आरोहणपछि उनले भने, ‘विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न पाएकामा म आफैँ दंग भएको छु ।’ ‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्देश्यसहित सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रका रूपमा प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।




