काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिकास्थित दक्षिणकाली जाने बाटोको दक्षिण-पुर्वपट्टी एउटा ताल छ । यस ताललाई स्थानीय भाषामा टौदह भनिन्छ । करीब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई भएको यस तालको सम्पूर्ण भाग आँखाले सजिलै हेर्न भने सकिँदैन । टौदहको बीचमा नाग मन्दिर रहेको छ । जसमा केही रूखहरू रहेका छन् ।
रमाईलो के छ भने यस पोखरीको आकार करिव-करिव काठमाडौ उपत्यकाको आकारसंग मिल्दो-जुल्दो छ । पोखरीको वनाबट अस्टकोण को रुपमा रहेको छ भने पोखरीको डिलमा उभिएर हेर्दा, कुनै पनि ठाउबाट यसको पुरै रुप एकैपटक देख्न सकिदैन ।
विगतको तुलनामा ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु संख्या बडेको श्री कर्कोटक नागराजा नागरानी बासस्थान टौदह समाजका सचिव राम प्रसाद आचार्य बताउनु हुन्छ । अन्य दिन २००/३०० को संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेका छन् भने विदाको दिन वा शनिवार ५०० भन्दा बढी र बैशाख १ गते, विजया दशमी, नाग पञ्चमी वा अरु कुनै विशेष दिन वा चाडपर्वमा दैनिक १०००/१२०० संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको सचिव आचार्य बताउनु हुन्छ ।
श्री कर्कोटक नागराजा नागरानी बासस्थान टौदह समाजले प्रतिव्यक्ती रु ३० लिएर ताल प्रवेश गर्न पाईने नियम बनाएको छ । तालको वरपर ठुलो मात्रामा माछाको दाना बेच्ने मानिसहरु बस्ने गरेका छन् । पहिला-पहिला माछालाई भुजा वा मसौरा दिने गरेकोमा माछाको स्वास्थ्यमा नकारात्मक असर परेकोले माछालाई दाना दिने गरिएको टौदह समाजले बताएको छ । मन्दिर किनारामा दाना बेच्ने प्रत्येकबाट दिनको रु ५० समाजले लिने गरेको बताउनु हुन्छ सचिव आचार्य । पानीको स्थायी स्रोत नहुदा हिउदमा तालको पानीको सतह घट्ने गरेको र यसका स्थायी समाधानका लागी नेपाल सरकार, स्थानीय सरकार आदीले चांसो राख्नु पर्ने उहाको भनाई रहेको छ ।
ताल निर्माणसंग सम्बन्धित किंवदन्तीहरु
टौदह नेपाल भाषा बाट आएको शब्द हो । ‘टौ’ को अर्थ नाग र ‘दह’ को अर्थ पोखरी हुन्छ भने केही जानकारहरूका अनुसार “टौ” को अर्थ ठूलो र “दह”को अर्थ पानी जमेर बनेको पोखरी हुन्छ । यसरी हेर्दा टौदहको अर्थ नागराज बस्ने पोखरी सङ्ग नजिक देखिन्छ । टौदहमा निर्मित विभिन्न संरचना र मुर्तिहरू पनि नागसँग सम्बन्धित भएकोले पनि यो नागराजको पोखरी भन्ने किंवदन्ती अनुसार सजिलै मेल खान्छ ।
नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक ताल कीर्तिपुरको टौदह र धापाखेलको नागदह हुन् । टौदह काठमाठौंबाट ७ कि.मि.को दूरी दक्षिणकाली जाने बाटोमा पर्दछ । टौवगुको अर्थ नेपालभाषामा ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । कर्कट नागको वास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ ।
किम्दबन्ती अनुसार कर्कट नागराजकी पत्निको आखाँमा समस्या आएर उनी साह्रै बिरामी भईछन् । अनेक उपचार गर्दा पनि निको नभएपछि उपचार गर्ने ठाउँ र विधि खोज्ने क्रममा नागराजले पाटनमा एक जान्ने नामी वैद्य छन्, उनले जस्तो रोग पनि निको पार्छन् भन्ने सुनेछन् । र, अर्को दिन बिहानै नागराज ती वैद्यको घर पुगेछन् । श्रीमतीको अवस्थाको बेलि- विस्तारलाई आफूसँग जान आग्रह गरेछन् । नागराजाको आग्रह स्विकार्दै वैद्य नागराजासङ्ग टौदह पुगेछन् र रानीको उपचार गरी दिएछन् ।
वैद्यको उपचारले रानी सन्चो भएपछि नागराजले खुशी हुँदै वैद्यलाई टल्किने भोटो प्रदान गरेछन् । भोटो सुन्दर चम्किलो रहेछ । वैद्य सधैँ त्यही भोटो लगाएर हिँड्न थालेछन् । वैद्यले लगाएको त्यो भोटो एउटा भुतले देखे छ । भोटो उसलाई औधी मन परेछ र उसले भोटो चोर्ने निर्णय गरेछ । एकदिन वैद्यले खेत खन्दै गर्दा भोटो निकालेर आलीमा राखेछन् । त्यसै बेला भुतले उक्त भोटो चोरेर भागेछ । चोरलाई खोज्दै हिँडेका वैद्य हरिशिद्दद्को जात्रामा पुगे छन् । त्यहाँ चोर भुतलाई भेटेछन् । भोटो मागे छन् । भुतले मेरो भोटो र वैद्यले मेरो भोटो भन्दा झगडा हुन पुगेछ । यसरी झगडा भएपछि जात्रा हेर्न आएका राजा सिद्विनरसिंहले भोटो पुजारीलाई दिएछन् र भनेछ्न्, ‘भोलि यो भोटो माग्न साक्षी लिएर जो आउँछ उसैलाइ दिनु ।’ राजाको यो निर्णय पछि वैद्य टौदह पुगि नागराजलाई सबै बेलिबिस्तार लगाई साक्षी बसिदिन आग्रह गरेछन् । नागराजले भनेछन् – ‘म भोलि सबैभन्दा अग्लो मान्छेको रूप लिएर त्यहाँ आउने छु । मलाई खोज्नु र राजा सङ्ग भेटाउनु म साक्षी बसिदिन्छु ।’ अर्को दिन वैद्य र नागराज दुवै जात्रामा पुगेछन् तर वैद्यले नागराजलाई चिन्न सकेनछन् । भोटो लिन पनि सकेनछन् । त्यस बेलादेखि पुजारीले यो भोटो कस्को हो भनी देखाउन थालेछन् र हाल सम्म यो भोटो कसैले आफ्नो हो भनी साक्षी नल्याएकाले प्रत्यक बर्ष भोटो जात्रा देखाउने गर्न थालियो भन्ने मान्यता रहेकाे छ ।
अर्को किंवदन्ती अनुसार टौदह बन्नुको पनि आफ्नै कारण देखिन्छ । “मञ्जुश्रीले काठमाडौंमा बस्ती बसाउन चोभारको डाँडो काटेसङ्गै काठमाडौ भित्र भएका माछा, भ्यागुता, सर्पहरू बग्न थाले । यसरी बग्नेमा नागहरू पनि परे । यसरी नागहरू सबै काठमाण्डौंबाट बगेपछि काठमाण्डौंलाई अनिष्ट हुने भन्दै कर्कट नागराजले मञ्जुश्रीलाई बिन्ती गरे, कर्कट नागराजको बिन्ती सुनेर काठमाण्डौंको भलो गर्नुको साथै नागराजलाई बास दिनका लागि टौदह निर्माण गरे । यसरी टौदह बनाउनका लागि मञ्जुश्रीले तीन पटक खनेर पोखरी बनाईदिए । यसरी तीन पटक फरुवा बाट खनेको माटो उत्तर तिर फाल्दा हाल ह्वाइट हाउस भनेर चिनेने बुस्टन डाँडो बन्यो र खनेको ठाँउमा टौदह बन्यो । जुन दहमा कर्कट नागराजलाई बस्न ठाउँ प्रदान गरियो ।”
टौदह वरिपरीको माटो मलिलो र उब्जाउयुक्त भएकोले मानिसहरू दह वरिपरी बसोबास गर्न थाले र बस्ती बक्लिदै गयो । टौदह वरिपरी सिमसार थियो जहाँ धेरै धान फल्ने हुँदा काठमाडौं भरीलाई खान पुग्थ्यो । अहिले भने घर मात्र फलेका छन् । टौदह हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाकाे केन्द्र पनि हो । नागराजाको बास भएकाले टौदहमा नागपञ्चमिका दिन विषेश मेला लाग्छ । हिन्दु परम्पराअनुसार टौदहमा नाग पुजा गरिन्छ भने बौद्ध लामाहरू त्यहाँ अनुष्ठान गर्छन् । र, पुजा पछि माछा चढाउँछन् । टौदहमा चढाइएको माछा खान, बेच्न र मार्न नहुने, यदि यसो गरेको खण्डमा अनिष्ट हुने जनविश्वास रहि आएको छ । प्राकृतिक तथा धार्मिक रूपले ठूलो महत्व बोकेको यस ताल वरपर बनेका संरचनाले भने ताल वा दहको अस्तित्वमा चिन्ता प्रकट गरेको छ ।





