काठमाडौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस । हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाउने गरिन्छ । सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको दिनको अवसरमा यो दिवस मनाइन्छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेकेका थिए । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पुगेको छ ।
सोही अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पा सम्मानित हुने भएका छन् । सगरमाथा दिवसको ७१ औँ संस्करणको अवसरमा आज शेर्पासहित विभिन्न कीर्तिमानी आरोही तथा संस्थाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिँदै आएको छ । व्यवसायी शेर्पाले यसै वर्ष विश्वका सात वटै महादेशका सर्वोच्च शिखरहरूको सफलतापूर्वक आरोहण सम्पन्न गरेका थिए । वरिष्ठ पर्यटन व्यवसायी तथा पर्वतारोही शेर्पा ५ दशकदेखि पर्यटन तथा पर्वतारोहण क्षेत्रमा कार्यरत छन् । २५ वर्षदेखि यति एयरलाइन्स सञ्चालन गरिरहेका छन् । त्यसो त, शेर्पाले नेपालमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने थामशेर्कु कम्पनी सञ्चालन गरिरहेका छन् । होटल व्यवसायमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउनुलाई पनि पुरस्कार वितरणको आधार मानिएको छ । सगरमाथा दिवसको अवसरमा सरकारले वितरण गर्ने अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार सबैभन्दा ठूलो पुरस्कार हो । उक्त पुरस्कारको राशि एक लाख रहेको छ ।
पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा गठित पुरस्कार छनोट तथा सिफारिस समितिले कीर्तिमानी व्यक्ति तथा आरोही र संस्थालाई पुरस्कृत तथा सम्मान गर्न व्यक्तिहरूको सूची तयार गरेको थियो । उक्त सूचीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको हो ।
त्यस्तै, इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाई मापक खिमलाल गौतमलाई प्रदान गरिएको छ ।
विभागले गरेको निर्णयमा इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथाको नेपाली नामाकरण गर्ने सम्बन्धमा महत्त्वपूर्ण योगदान पुर्याएकाले नेपाल तथा सगरमाथाको प्रतिष्ठा तथा महिमा अन्तर्राष्ट्रिय क्षेत्रमा अभिवृद्धिमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने गरी उनको सम्झनामा एक जना सगरमाथा आरोहीलाई सम्मान गर्ने निर्णय गरिएको थियो ।उक्त निर्णयअनुसार यस आर्थिक वर्षमा उक्त पुरस्कार दुई पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका, सगरमाथाको उचाई ८८४८.८६ मिटर सर्वेक्षण कार्यमा नेतृत्व गरेका खिमलाल गौतमलाई प्रदान गरिएको छ । सगरमाथा सम्बन्धमा लेखिएको प्रथम ऐतिहासिक पुस्तक पन्ध्रौँ चुलीका लेखक, नापी विभागका प्रमुख नापी अधिकृत गौतमले दुई-दुई पटक सगरमाथाको सफल आरोहण गरी, नेपालले आफ्नै साधन र स्रोतबाट सगरमाथाको उचाई मापन गरेको ऐतिहासिक कार्यको टोली प्रमुख समेत भई मापन कार्य सफलतापुर्वक सम्पन्न गरेका थिए । सगरमाथा आरोहण र ऐतिहासिक पुस्तक पन्ध्रौँ चुलीका विद्वान लेखक तथा निक्कै साहासी आरोही गौतमलाई सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याई-नभ्याई भएको र यसैले होला पछिल्ला दिनहरुमा गौतम सन्चार जगतको केन्द्रमा रहदै आउनुभएको छ ।
त्यसैगरी, तेन्जिङ हिलारी पुरस्कारबाट पेमा छिरिङ्ग शेर्पा, महासेनानी श्री सुनिल सिंह राठौर, फुर दिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा पुरस्कृत भएका छन् । पेमा २३ पटक सगरमाथाको आरोहण गरेका र ११ पटक रोप फिक्सिङ्गमा संलग्न आरोही हुन् । मनास्लु हिमाल १० पटक सफल आरोहण गरी केटु २ पटक सफल आरोहण गरेका शेर्पाले सिसापाङको १ पटक सफल आरोहण गरेका थिए । उनले चोयु ३, ल्होत्से, जीटु हिमाल पनि आरोह गरिसकेका छन् । साथै, ट्रेकिङ्ग तथा माउन्टेन गाइडको रूपमा काम गर्दै आएका छन् ।
महासेनानी राठौरले भने सन् १९९९ बाट पर्वतीय पर्वतारोहण काम सुरु गरेका थिए । उनले नेपाली सेनाको सगरमाथा आरोहण दल २००३ मा सहभागी भई पहिलो पटक नेपाली सेनाको अधिकृत स्तरबाट सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २००८ मा बेइजिङ ओलम्पिकको टर्च सगरमाथा शिखरमा पुर्याइ खेल उद्घाटन गर्ने कार्यको नेतृत्व गरेका थिए । साथै, सन् २०१९ देखि सगरमाथा सफाइ अभियानको सल्लाहकारको रूपमा रही कार्य गरिरहेका राठौर नेपाली सेनाको तर्फबाट पर्वतारोहणसम्बन्धी कार्यको विषय विशेषज्ञको रूपमा कार्य गरिरहेको छन् ।
त्यसैगरी, एकल महिला आरोहण दलमा आबद्ध भई फुर दिकी शेर्पा र निमा डोमा शेर्पाले सगरमाथाको सफल आरोहण गर्न सफल भएका थिए । आङ छिरी शेर्पालाई भने संसारका ७ महादेशका अग्ला हिमालहरू आरोहण गरेको र सेभेन समिट फाउन्डेसन स्थापना गरी आरोहण क्षेत्र र पर्वतीय पर्यटनमा विशिष्ट योगदान पुर्याएबापत पुरस्कृत गर्न लागिएको जनाइएको छ ।
त्यसैगरी, उक्त अवसरमा इतिहास शिरोमणि बाबुराम आचार्यको परिवारलाई सम्मान गरिएको थियो । छिरिङ्ग धेन्दुक भोटे, नरेन्द्र शाही, ग्याल्जे शेर्पा, ल्हाक्पा डेण्डी शेर्पा, आङ्ग सर्की शेर्पालगायत पनि पुरस्कृत भएका छन् ।
सगरमाथाको ३० पटक आरोहण गरेका कामीरिता शेर्पालाई पनि सम्मानित गरिएको छ । हिमाल आरोहणमा विभिन्न कीर्तिमान राखेका आरोहीहरूलाई पनि सरकारले सम्मान तथा पुरस्कृत गरेको छ ।
आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातिको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण सावित हुने बताए ।
आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने प्रचण्डको भनाइ छ । आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने उनले बताए ।
जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र हिमालमा फोहोरमैलाको व्यवस्थापनलगायतका चुनौतीलाई सामना गर्दै हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।
पर्वतीय देशको नेताको रूपमा नेपाल स्थापित भइसकेको प्रचण्डले बताए । हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको उनको भनाइ छ । जलवायु परिवर्तनको असरको चपेटामा सर्वोच्च शिखरसहितका अन्य हिमशृंखलाहरू परेको भन्दै हिमालको संरक्षणमा सबै जुट्न आवश्यक रहेको उनले बताए । सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको उनले जानकारी दिए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको उल्लेख गरे ।





