काठमाडौं । कुखुरा पालनको लागी प्रसिद्द चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको आयोजना हुने भएको छ । जेठ १८ देखि २० सम्म एक्स्पो हुन लागेको हो। एक्सपोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिइने आयोजकले जानकारी दिएको छ।
नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो।
एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहने र प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायललगायत देशका कम्पनीहरू सहभागिता हुने आयोजकको दाबी छ।
आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउन पाठशाला सञ्चालन गरिने बताएका थिए।
उनका अनुसार एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिइनेछ।
एक्सपोमा कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउनेबारे जानकारी दिइने आयोजकले जानकारी दिएको छ।(उकेरा)




