काठमाडौं । युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले हिजो आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याउन आग्रह गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रूपमा पस्कन नहुने बताएका छन्। मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामा धक्का लागेका तर्फ सबै सचेत हुनुपर्ने उनको धारणा थियो ।
युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले हिजो यहाँ आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याउन आग्रह गरे।
“माध्यम जुनसुकै होस् तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो। अरुलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छन्, हामीले विवादरहित, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ”, अध्यक्ष बस्नेतले भने। उनले स्वस्थ, मर्यादित र जवाफदेहि पत्रकारिताले मात्रै समाजको हित गर्ने बताए।
अध्यक्ष बस्नेतले युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो भएमा युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युबरहरूलाई आग्रह गरे। “हाम्रो पेसालाई राम्रो बनाउने दायित्व हाम्रो नै हो, त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनै पर्छ। मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता हुँदैन”, उनले भने।
प्रेस काउन्सिल नेपालले युट्युबमार्फत सञ्चारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ। आज भएको चौथो शृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गरेका थिए।




