काठमाडौं । भक्तपुर जिल्लाको सूर्यविनायक चोकबाट करिब दुई किलोमिटर दक्षिणमा अवस्थित रहेको छ, चर्चित मन्दिर सुर्यविनायक । समुन्द्र सतह भन्दा करिब १४५० मिटर उचाईमा रहेको मन्दिर घना जंगलको बिचमा रहेको छ । स्थानीय नेपाल भाषामा इन्हरे गणेद्यो भनिने यस मन्दिरको निर्माण आजभन्दा करिब १५ सय वर्ष अगाडि लिच्छिविकालिन राजा विष्णु देव बर्माको समयमा भएको विश्वास गरिन्छ । काठमाडौं उपत्यका लगायत, बनेपा, पनौती र धुलिखेलबाट पनि भक्तजनहरु आउने गरेको सुर्यविनायक क्षेत्र प्रबन्ध समितीले जनाएको छ ।
सुर्यविनायक क्षेत्र प्रबन्ध समितीका अनुसार मंगलवारका दिन गणेश भगवानको विशेष वार हुनाले यस दिन ८००-१००० जनासम्म भक्तजनहरु आउने गरेको छन । वर्षाका समय बाहेक भाद्र देखी बैशाख सम्म भक्तजनहरुको ठुलो भिड लाग्ने गरेको बताईन्छ । मुख्य पुजारी गुठी संस्थानले नै खटाउने गरेकोमा, सरसफाई लगायतका कार्य गर्नको लागी समितीले अन्य ४ जना ज्यालादारी कर्मचारी राखेको छ । लड्डु चढाउने गणेशलाई बली चढाउनु हुदैन भनेर, भैरबको लागी चढाउने बली गणेश मन्दिरमा नै चढाउने पुरानो परम्परालाई सुधार गरी हाल मन्दिर देखी दक्षिण तर्फ सारिएको समितीका सचिव मोहन गिरि बताउनुहुन्छ । मन्दिरमा घेरबार, पर्खाल नहुदा संरक्षणका लागी राती कुर्नुपर्ने काम चित्तपोलका स्थानियले गर्ने र भेटी वापतको रकम उहाहरुले नै लाने गरेको सचिव गिरि बताउनुहुन्छ ।
केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न आउदा बाटोमा नै पर्ने भएकोले आजकल भारतका धार्मिक-पर्यटकको संख्यामा उल्लेख्य बृद्दी भएको सचिव गिरि बताउनुहुन्छ । मन्दिरसंगै रहेको बनभोज स्थलको हेरबिचारको जिम्मा यस समितिले लिएको र सो वापत रु १५०० देखि ३००० सम्म लिई कर्मचारीको तलब भुक्तानी गर्ने गरेको बताउदै गिरि भन्नुहुन्छ, आम्दानिको भरपर्दो स्रोत नभएको र सरकारले समेत चासो नदिएका कारण मन्दिर संरक्षणका र मर्मत सम्भारका लागी गार्हो परेको समितिको भनाई रहेको छ ।
सूर्यविनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् ।
काठमाडौँ उपत्यकामा रहेका चार विनायक गणेशहरु, कार्यविनायक, अशोकविनायक, जलविनायक र सूर्यविनायक हुन । भक्तपुर जिल्लामा रहेको सूर्यविनायक गणेश मन्दिर भक्तपुरनगर भन्दा २ किलोमिटर दक्षिणमा अवस्थित छ । यो मन्दिरको निर्माण आजभन्दा करिब १५ सय वर्ष अगाडि लिच्छिविकालिन राजा विष्णु देव बर्माको समयमा भएको विश्वास गरिन्छ । स्थानीय नेपाल भाषामा यस मन्दिरलाई इन्हरे गणेद्यो भनिन्छ । यस मन्दिरको विशेषता के हो भने, बोली नफुटेको तथा अस्पष्टता भएका बालबालिका सूर्यविनायकामा लगेर छोडिदिनाले अतालिँदै चिच्याउन थाल्ने र त्यहि चिच्याई पछि बोलीमा परिणत हुने जनविश्वास रहि आएको छ । यसका साथै हिड्न नजानेका बालबालिकालाई यहाँ ल्याएर छोडिदिनाले हिड्न थाल्छन् भन्ने पौराणिक जन विश्वास रहि आएको छ । गणेशको दर्शन गर्दा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने साथै यहाँ दर्शन गर्नाले पुत्रलाभ हुने पनि बताएको पाईन्छ ।
एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए । उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरोको मृत्यु भएछ । मरेको छोरालाई ब्युँझाउन उनी पशुपतिनाथकै शरणमा पुगे । पशुपतिनाथले यहाँबाट हिँड्दै जाँदा भोलि सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ मेरो पुत्र गणेशले दर्शन दिनेछन र उनीसंग त्यही वर माग्नु भनेपछी, ति भक्त हिँड्दै जाँदा, हाल सूर्यविनायक गणेश मन्दिरको स्थानमा आई पुग्दा सुर्योदय भयो र सूर्य पहिलो किरण परि उनको छोरो बाचेको हुनाले यस पवित्र स्थानलाई सूर्यविनायक भनिएको किंवदन्ती पाईन्छ । सूर्यको किरणसँगै उत्पत्ति भएको हुनाले सूर्यविनायक नाम रहेको मन्दिरका पुजारी बताउँछन् ।




