काठमाडौं । राजनीतिक दाउपेचमा माहिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदका केही सदस्यहरूलाई अदलबल गर्न खोजेको छन् । तर एक साता बितिसक्दा पनि नेकपा एमालेको अवरोधले रोकिएको बुझिएको छ । पछिल्लो समय उनले सरकार टिकाउन र सत्ता जोगाउनकै लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीका नेता अब्दुल खानलाई मन्त्री बनाउने गरी राखेको प्रस्तावमा एमालेले तत्काललाई असयोग गरेको बुझिएको छ ।
सत्ता टिकाउन जस्तोसुकै सम्झौता गर्न तयार हुने प्रधानमन्त्री प्रचण्डका लागि अहिले भने एमालेले अवरोध खडा गरिदिएकोलाई प्रचण्डकै भाषामा भन्ने हो भने ‘सत्ता जोगाउन अनेक उथलपुथल’ गरिरहने भएकाले फेरि अर्को गठबन्धन गर्नका लागि एमालेले सहजीकरण गरिदिएको छ भन्न सकिन्छ ।
प्रचण्डले १७ महिनाकै अवधिमा कहिले प्रतिपक्षमा रहेकालाई अनेक आश्वासनका साथ विश्वासमा लिएर होस् या आफ्नै गठबन्धनमा रहेका दल फुटाएर वा पटक–पटक मन्त्रिपरिषद् फेरबदल गरेर आफ्नो पद जोगाउँदै आएका छन् ।
अहिले सत्ताको अंकगणित कमजोर हुँदै गएपछि प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति र जनमत पार्टीसँगै केही स्वतन्त्र सांसदलाई समेटेर फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।
प्रधानमन्त्रीले सत्ता टिकाउन गर्ने अनेक प्रयासमा पछिल्लो हतियार– मन्त्रिपरिषद्लाई बनाउन थालेका हुन् । सत्तामा जसरी पनि टिकिरहने भाष्य निर्माण गरेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले अहिले आफ्नै दलबाट मन्त्री बनेकाहरूको मन्त्री पद खोसेर साना दल र स्वतन्त्र सांसदलाई बाँड्ने तयारी गरेका छन् । पर्यटनमन्त्री हितमान तामाङलाई हटाउने प्रचण्डको प्रयास रहेको छ । नारायणकाजी श्रेष्ठ पनि खास रोजाईमा छैनन । यही कारण उनले दर्जनौँ पटक मन्त्रिपरिषद् फेरबदल गरिसकेका छन् ।
अब फेरि मन्त्रिपरिषद पुनर्गठन गर्दा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ मन्त्री बन्ने लगभग निश्चित भएको छ ।
सरकारको स्थायित्वका लागि साना दललाई मन्त्रिपरिषदमा सहभागी गराउन लागिएको गठबन्धनका नेताहरूको दाबी छ । उता, अमरेश सिंहलाई पनि मन्त्रीको लोभ देखाइएको छ ।




