काठमाडौं । जनसंख्याको बृद्दीका कारण विश्वमा प्रदुषण बड्दो छ । झन त्यसमाथी प्रदुषणको मुख्य सिकार बनेको छ हाम्रो वायुमण्डल ।
यसैमा स्टेट अफ ग्लोबल एयर २०२४ नामक प्रतिवेदनले प्रदूषित हावाका कारण विश्वमा लाखौं मानिसको मृत्यु भइरहेको तथ्य सार्वजनिक गरेको छ । हेल्थ इफेक्ट इन्ष्टिच्युट एवं हेल्थ मेट्रिक्स एण्ड इभ्यालुयसन नामक संस्थाले युनिसेफसँगको सहकार्यमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करिब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पाँच सय मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ को प्रतिवेदनमा यस्तो संख्या ४२ हजार एक सय थियो । विश्वभरि वायु प्रदूषणका कारण मृत्यु हुनेमध्ये पिएम २.५ अर्थात् धुलो धुवाँमा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत, घरभित्रको प्रदूषणका कारण ३८ प्रतिशत र ओजोनका कारण छ प्रतिशत रहेको बताइएको छ ।
प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । सन् २०१९ मा ४२ हजार एक सय जनाको मृत्यु भएको थियो ।
विश्वभरि उच्च रक्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको प्रतिवेदनले औंल्याएको छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एसियाली र अफ्रिकन मुलुक रहेका छन् । संयुक्त राष्ट्र संघको साधारणसभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारका रूपमा स्वीकार गरेको छ । त्यसैगरी नेपालको संविधानको धारा ३० ले ‘स्वस्थ र स्वच्छ हावा’ नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, कार्यान्वयन हुन सकेको छैन ।
वायु प्रदूषणको मुख्य कारणमध्ये जीवाष्म इन्धन र जैविक इन्धन अधिकतम् प्रयोग हुन् । यीबाहेक खुला फोहोर बाल्ने, फोहोर व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् । वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, महिला बढी जोखिममा रहेका छन् । जसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।




