काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ।
महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा आगामी तीन दिनसम्मै कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हुँदा सावधानी अपनाउन आग्रह पनि गरेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।
महाशाखाका अनुसार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।




