काठमाडौं । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा सुरु भएको छ । दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको यो जात्रालाई स्थानीय भाषामा ‘अषाढी जात’ पनि भनिन्छ।
हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा ‘अषाढी जात’लाग्ने स्थानीय राजेन्द्रसिंह थापाले जानकारी दिए। असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि आठौँ दिनमा जात्रा सुरु हुने र नवमीको दिनमा जात्रा सम्पन्न हुने गर्दछ।
असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने चलन रहिआएको छ। नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडीगाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रहिआएको छ।
असार शुक्ल नवमीको साँझ भण्डार घरमा पुर्याएपछि जात्रा समापन हुने गरेको थापाले बताए।
‘अषाढी जात’मा पनि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। त्रिपुरासुन्दरीको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत पुग्छन्।
भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट त्रिपुरासुन्दरीको दर्शनका लागि दर्शनार्थीहरु नेपाल पुग्ने गरेका छन्।
त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलिसहितको जात्रा हुने हुन्छ।
यस्तै असोजको नवरात्र र चैतै दसैँमा पनि मन्दिरमा पूजाआजासहितको जात्रा हुने गरेको छ। त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयवासीले रणशैनी भगवतीका रूपमा पुर्काने गरिएको छ।
त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ।(नेपाल खबर)




