काठमाडौं । कर्णाली प्रदेशमा आगामी मंसिरमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताको तयारी स्वरूप विभिन्न खेल गतिविधि सञ्चालन हुनुका साथै खेलकुद भौतिक संरचनासमेत धमाधम निर्माण भइरहेका छन् । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालका अनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगितामध्ये २४ वटा खेलहरू कर्णालीमै सञ्चालन गर्न सकिने अवस्था छ ।
सोहीअनुसार २४ वटा खेल कर्णालीमै सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव पेश गरिएको उहाँ बताउनुहुन्छ । मंसिर २ गते उद्घाटन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप खेलकुद पोशाक र खेलकुद गीत निर्माणदेखि खेल प्रशिक्षणका अभ्यासहरूसमेत तीव्र रूपमा भइरहेका छन् । ‘प्रदेश गौरवको आयोजनाअन्तर्गत कर्णाली रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ, जिल्ला–जिल्लामा खेल संरचना धमाधम बन्दैछन्,’ उहाँले भन्नुभयो, ‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि हामी तयारी अवस्थामा छौँ, अधिकांश खेल सुर्खेतमै र केही खेल अन्य जिल्लामा सञ्चालन गर्ने तयारी छ ।’
सदस्य-सचिव सञ्ज्यालका अनुसार प्रदेश गौरवको आयोजनाअन्तर्गतको कर्णाली रंगशाला निर्माणको ९० प्रतिशत काम सकिएको छ । बाँकी अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी तीव्र काम भइरहेको छ । यो रंगशाला १०औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गरी निर्माण थालिएको थियो । २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि कोरोना महामारीलगायतका कारण निर्माण सम्पन्न हुन केही ढिलाइ भएको हो । प्रदेश रंगशाला कर्णाली सरकार स्थापनाकालदेखि अहिलेसम्मको एकमात्र गौरवको आयोजना हो । यो रंगशालाभित्र मात्रै १६ वटा खेल खेल्न सकिने गरी संरचना तयार हुँदैछन् ।(हिमालय टाईम्स)




