काठमाडौं । जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने भएका छन्। भदौ २५ मा प्रधानसेनापति बन्ने उनले सेनाको कमान्ड भने साउनबाटै सम्हाल्ने छन्।
प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ गतेदेखि बिदामा बस्ने भएकाले सिग्देलले कामु प्रधानसेनापतिको जिम्मा पाउने भएका हुन्।
नेपाली सेनामा अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड बरबुजारथ गर्ने चलन छ। प्रभुराम शर्माले सिग्देललाई नै जिम्मेवारी हस्तान्तरण गर्ने निश्चित छ। बलाध्यक्ष रथी निर्मलकुमार थापा हाल शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर छन्।
सिरियामै रहेका थापाको दुई वर्षे कार्यकाल अझै तीन महिना बाँकी छ। नेपालमा कमान्ड हस्तान्तरण हुँदा पनि उनी आउने सम्भावना कम रहेको जंगी अड्डा स्रोतले जानकारी दिएको छ।
नेपाली सेनामा बलाधिकृत रथीलाई नै प्रधानसेनापति बनाउने चलन छ। सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्।
प्रधानसेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डेले राजीनामा दिएपछि उनी गएको मंसिरमा रथीमा बढुवा भएका थिए। शैक्षिक प्रमाण पत्रको विवादमा परेपछि पाण्डेले राजीनामा दिएका थिए।
छानिबिन सुरु भएर कैफियत भेटिएपछि कारबाहीमा पर्नुअघि नै राजीनामा दिएर पाण्डे हिँडेसँगै सिग्देललाई सेनाप्रमुख बन्ने बाटो खुलेको हो।
सिग्देलले आफ्नो व्यावसायिक सैन्य शिक्षा नेपाल र विदेशमा लिएका थिए। उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन्।
यसका साथै उनले नेपालको आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्।
३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ।
उनले काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा काम गरेका छन्। त्यस्तै, बाहिनी र पृतनापतिको रूपमा काम गरिसकेका छन्। यसका अतिरिक्त, उनले सैन्य सञ्चालन निर्देशनालयको निर्देशक र कर्मचारी कर्तव्य, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गरे। यसबाहेक उनी प्रधानसेनापतिको सैनिक सहायकको पदमा पनि थिए।
सिग्देलले २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्यान्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए। यस्तै कोभिड–१९ महामारीमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सचिवको रूपमा काम गरे।
कोभिड–१९ महामारी नियन्त्रणमा अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा शान्ति सेनाको रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता देशमा काम गरेको अनुभव उनीसँग छ।




