काठमाडौं । हिजो श्रावण महिनाको पहिलो सोमवार, पोखराको पुम्दिकोट ठुला महादेवमा पन्ध्र हजार बढी भक्तजनहरु दर्शनका लागी पुगेका छन । देशभरका शिवालयमा श्रावण महिनामा भक्तजनको भिड लाग्ने गर्दछ । त्यसमाथी पनि श्रावण महिनाको सोमवार शिवमन्दिरमा बिशेष भिड लाग्ने गर्दछ ।
हरेक दिन ठुला महादेव दर्शन गर्न तिन हजार बढी स्वदेशी-बिदेशी पर्यटक आउने गरेको मन्दिरका पुजारी भरत गुरुले जानकारी दिनु भयो । पोखराबाट पश्चिम- दक्षिणतर्फ समुद्रसतहबाट करिब १५०० मिटरको उचाईमा निर्माण गरिएको छ, विशाल महादेवको मूर्ति । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ र २०७८ मा महाशिवपुराण आयोजना भयो । सुरुमा छ करोड १८ लाख रूपैयाँसहित दानस्वरुप २० रोपनी जग्गा र दोस्रो पटक करिब तीन करोड रूपैयाँ सहयोग प्राप्त भयो । दोस्रो पटकको महायज्ञपछि मूर्ति स्थापनाको कार्य सुरु गरिएको समितिका सदस्य मातृका बरालले बताउनु भयो । कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति ठडियो । अहिले दक्षिण फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्ति तयार भएको छ । मूर्ति बनेपछि त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
मन्दिरका मुल पुजारी भरत गुरुका अनुसार यहां हरेक सोमवार सांझ माहा-आरती हुने गरेको छ ।
पुम्दीकोट ठुला महादेवको परिचय
पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।
एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ ।
शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ । नजिकैको शान्ति स्तूपामा पर्यटक आएको देख्दा भुम्दीकोटका स्थानीय यहाँ पनि पर्यटक ल्याउन हौसिए । उनीहरूले ‘भ्यूटावर’ निर्माणदेखि धेरै योजना अघि सारे । सोही समयमा व्यवसायी तथा समाजसेवी चन्द्रकान्त बरालले विशाल महादेवको मूर्ति बनाउने योजना ल्याए ।
उनको परिकल्पनामा गाउँलेले साथ दिए । सबै गाउँले मिलेर पुम्दीकोट कोट विकास समिति गठन गरी त्यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लागि परे । ‘पुम्दीकोटमा पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो । समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि आउथेँ र शिवको दर्शन गरी फर्किन्थे’, समाजसेवी बरालले भने, ‘पुर्खादेखिको धार्मिक आस्थालाई जीवन्तरुप दिन विशाल महादेवको मूर्ति निर्माण गर्ने परिकल्पना आयो ।’
मूर्ति निर्माणार्थ समितिले दुई पटक महायज्ञ आयोजना गर्यो । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ र २०७८ मा महाशिवपुराण आयोजना गर्यो । सुरुमा छ करोड १८ लाख रूपैयाँसहित दानस्वरुप २० रोपनी जग्गा र दोस्रो पटक करिब तीन करोड रूपैयाँ सहयोग प्राप्त भएको उनले जानकारी दिए । यो अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग प्राप्त भएको उनले बताए ।
जनस्तरको सक्रियतामा पुम्दीकोटमा महादेवको मूर्ति निर्माण गरिएपछि पुम्दीकोट डाँडाको परिचय फेरिएको समितिका सदस्य बताउछन् । उनले भने, ‘जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन् ।’
मूर्ति स्थापना गरिएपछि पुम्दीकोट डाँडामा पर्यटकको भीड लाग्ने गरेको छ । दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसक्नुहुन्छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर पर्यटकले विशाल महादेवको मूर्तिसँगै पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।
सुरुमा २० करोड रूपैयाँ लगानी गरेर भौतिक संरचना बनाउने योजना अघि सारेको समितिले पछि ४० करोड रूपैयाँको परिमार्जित गुरुयोजना तयार गरेको समितिका अध्यक्ष बरालले बताए । अहिलेसम्म २७ करोड रूपैयाँको संरचना बनाइसकिएको उनले जानकारी दिए । परिमार्जित गुरुयोजनाअनुसार, सुमेरु पर्वत, विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यास्थित पार्किङ रहेका छन् । यीमध्ये सुमेरु पर्वत निर्माण भइसकेको छ ।
हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल कुण्ड, १०८ धारा जडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको छ ।
यस्तै २१६ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ वटा सटर, कम्पाउडवाल, दुई सय मिटर पक्की पहुँचमार्ग पनि निर्माण सम्पन्न भइसकेको छ ।
आगामी दिनमा परियोजनाका अधुरा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष, व्यवसायी तथा समाजसेवी चन्द्रकान्त बरालले बताउनु भयो । साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने योजना रहेको उहांले बताउनु भयो ।





