काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि राजेन्द्र सापकोटालाई अघि सार्ने निर्णय गरेको छ । आज आइतबार बसेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको बैठकले टानको आगामी अध्यक्ष पदमा सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
नेपाल पर्यटन बोर्डको सञ्चालकको समेत अनुभव हासिल गरिसकेका सापकोटा चर्चित पर्यटन व्यवसायी हुन् । उनले देशका विभिन्न ठाउँमा पदमार्ग निर्माण, विकास तथा विस्तारमा आफ्नो तर्फबाट उल्लेख्य भूमीका निर्वाह गरेका छन् ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले टानको आगामी साधारणसभा तथा निर्वाचनमा अरु संगठनहरुसँग पनि मिलेर अथवा सहकार्य गरेर जान सकिने ठाउँ राखेको बताएको छ ।
‘अरु संगठनसँग पनि सहकार्य, सहमति गरेर जान सकिने ठाउँ राख्नुपर्छ, त्यहीँ भएर हामीले अध्यक्षमा उहाँ (राजेन्द्र सापकोट)लाई अघि सार्ने भनेर संगठनको तर्फबाट सर्वसम्मत निर्णय गर्यौ’ संगठनका एक नेताले भने, ‘अरु संगठनहरुसँग मिलेर जाने ठाउँ राखेरै हामीले अन्य पदमा उम्मेदवार तय नगरेका हौँ ।’
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन हो । यसलाई छोटकरीमा ‘टान’ भनिन्छ । यस संस्थामा नेपालका करिब एक हजार ट्रेकिङ कम्पनीहरू आवद्ध छन् । यसको स्थापना २०३२ सालमा भएको हो ।




