काठमाडौं । सुचना तथा समाचारका विषयवस्तु उत्पादनका क्षेत्रमा अग्रणी सरकारी संस्था राष्ट्रिय समाचार समितिमा हिजो उपस्थित भई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हिजो रासस केन्द्रीय कार्यालय भद्रकालीमा ‘ब्रिफिङ’ लिँदै उनले समाचारका क्षेत्रमा राससलाई ‘गुरु’ संस्थाका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।
“सबै सञ्चार माध्यमको अभिभावक रासस बन्नुपर्छ, समाचारको स्रोत रासस हुनुपर्छ, यसको सेवालाई प्रभावकारी बनाएर लैजानुपर्छ”, मन्त्रीले भन्नुभयो, “राजनीतिक प्रभावबाट मुक्त पारेर राससलाई आस्थाको केन्द्र बनाउनुपर्छ ।”
परम्परागत कार्यशैली बदल्दै परिणाममुखी काममा केन्द्रित हुन, देश र जनताको पक्षमा सकारात्मक नतिजा दिन आफ्नो योजनामा दृढ भएर अघि बढ्न साथै, यथास्थितिमा नरहन, शैली र व्यवहार बदल्न, परिवर्तनको पक्षमा लाग्न राससलाई आग्रह गर्दै उहाले, आफु हरतरहले राससलाई सहयोग गर्ने बताउदै, उहाले आफ्ना पालामा राससलाई भिन्न बनाउन सहयोग गर्ने बताउनु भयो ।




