काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागपञ्चमी नेपाल भरका हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू र हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने अन्य देशमा मनाइने नाग वा सर्प (जुन पौराणिक नाग प्राणीहरूसँग सम्बन्धित छन्)को परम्परागत पूजाको दिन हो। हिन्दू पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन यो पूजा गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो ।
यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ। केही भारतीय राज्यहरू, जस्तै कर्नाटक, राजस्थान र गुजरात एकै महिनाको कृष्ण पक्षमा नाग पञ्चमी मनाउँछन्। उत्सवको एक भागको रूपमा, चाँदी, पत्थर, काठ, वा चित्रकलाबाट बनेको नागा वा नाग देवतालाई दूधले श्रद्धापूर्वक स्नान दिइन्छ र परिवारको कल्याणको लागि उनीहरूको आशीर्वाद मागिन्छ। यस दिन जिउँदो सर्प वा विशेष गरी नगलाई दूधको प्रसाद दिइएर वा सामान्यतया बाजीगरको सहायताले पूजा गर्ने गरिन्छ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
नागको पूजा गर्नेहरुको घुइँचो
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।
वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।




