काठमाडौं । धरान उपमहानगरपालिकाको वडा नं.१४ विजयपुर डाँडास्थित पिण्डेश्वर बाबाधाममा प्रत्येक वर्षको साउन महिनामा लाग्ने बोलबम मेलामा यस वर्षको पहिलो सोमबारदेखि नै बोलबममा पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको भिड रहेको पिण्डेश्वर बाबाधाम समितिको अध्यक्ष विकास बनेपालीले बताउनुभयो । बनेपाली भन्नहुन्छ, “पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ” ।
पिण्डेश्वर बाबाधाममा नेपालको सबै जिल्लाका बोलबम भक्तजनहरुको भीड लागेको उहाँले बताउनुभयो । पिण्डेश्वर बाबाधाम मन्दिर पशुपतिनाथ मन्दिरभन्दा पुरानो भएको हिन्दु पौराणिक धार्मिक शास्त्रहरु स्कन्ध पुराण, रुद्राक्षारण्य माहात्म्य लगायतमा वर्णन गरेको पाईन्छ ।
मन्दिरमा पूजा-आजा गर्नको लागि आइतबार साँझैदेखि नै भक्तजनहरु लाइनमा बसेका थिए भने सोमबार साँझसम्म नै भक्तजनहरु जल चढाउन आउने गर्ने गरेको समितिले जनाएको छ ।
वराहक्षेत्र मन्दिरस्थित कोकाहा खोलाको जल ल्याएर पिण्डेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाउने गरिन्छ । यसमा धेरैजसो विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहिता युवतीले राम्रो पति पाउँ भन्दै शिवलिङ्गमा जल चढाउने परम्परा रहे पनि आजभोलि पुरुषहरु पनि धेरै सङ्ख्यामा जल चढाउन आउने गरेको अध्यक्ष बनेपालीले बताउनुभयो ।
धरानको मुख्य चोकदेखि विजयपुर डाँडाभरिका पिण्डेश्वर बाबाधाम, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर र पञ्चकन्या मन्दिरसम्म यतिबेला पहेंलो वस्त्र लगाउने भक्तजनकको भीड छ । पिण्डेश्वर बाबाधाममा जल चढाउन भक्तजन आउने र धरानका अन्य मन्दिर पनि दर्शन गरेर जाने गरेका छन । यसरी दर्शन गर्नाले चारधाम गए सरह हुने मान्यता रहेको धरान १४ का अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।
सप्तकोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले सप्तकोशी नदीबाट जल ल्याई पूजा गर्न परिवारसँग मोरङबाट आएको राजेश शाहले बताउनुभयो । टाढाटाढाबाट आएका भक्तजनहरु आइतबार नै कोकाहा नदीमा नुहाएर त्यहाँबाट बेलुका नै जल लिएर पिण्डेश्वर बाबाधाम पुगी रातभरि जाग्राम बसी सोमबार बिहान जल चढाएर घर फर्कने गर्दछन् । मनोकांक्षा पूरा होस् भनी कतिपय भक्तजन चतराबाट पैदल हिंड्दै धरान पिण्डेश्वर बाबाधाम आउने गर्दछन् भने कतिपय खाली खुट्टामा हिँडेर आउने गर्दछन् ।
आज साउनको चौथो अर्थात् अन्तिम सोमबार भएकाले अन्य सोमबारभन्दा बढी नै भक्तजनहरु आएको पिण्डेशवर बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । यस वर्ष साउनमा चार वटा मात्र सोमबार परेकाले आज अन्तिम दिन भएकोले भक्तजनको भिड लागेको छ ।
खासगरी साउन महिनामा सोमबार शिव भगवानको पूजा गर्ने प्रचलन भए पनि साउन महिनाको सबै दिननै पूजा गर्न यहाँ भक्तजनको भीड लाग्ने गरेको समितिले जनाएको छ । हाल सम्म करिब ५ लाख भक्तजन आएको समितिले जनाएको छ ।
भारत विहारको देवघरस्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको अध्यक्ष बनेपालीले बताउनुभयो ।
साउन महिना शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरुमा शिवभक्तको घुइँचो लाग्ने गर्दछ । वैदिक र पौराणिक कालमा समेत ऋषिमुनि र भगवानहरुले महादेवलाई शान्त, प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बेलपत्रसहित जल अर्पण गर्ने गरेको धर्म शास्त्रीय मान्यता छ ।(गोरखापत्र)




