काठमाडौं । साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।
अन्तिम सोमवार बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले पशुपतीनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए।
दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले सोमवार मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो।
साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन्। यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ।
यस्तै भक्तपुरको डोलेश्वर र आशापुरी महादेवमा पनि भक्तजनको विशाल उपस्थिती रहेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।उता श्रावण महिनाको अन्तिम सोमवार पुर्बको पशुपतीनाथ भनेर चिनिने खोटांग हलेसीमा बिहानै देखि श्रद्दालुहरुको व्यापक उपस्थिती रहेको र दिनभरमा ११ हजार बढीले मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
काठमाडाैं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर खोटांगको हलेसि, भक्तपुरको डोलेश्वर, आशापुरेश्वर लगायतका शिवालयमा भक्तजनहरुको बिहानैदेखि भीड रहेको बताईएको छ।




