काठमाडौं । नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी सङ्ख्या घटेको र भुक्तानी रकम भने बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ असारको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकममा केही वृद्धि तथा सङ्ख्यामा केही कम भएको देखिएको हो।
अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८१ असारमा डिजिटल वालेट मार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् २०८१ जेठमा ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको थियो।
यसरी हेर्दा अघिल्लो महिना जेठको तुलनामा असार महिनामा डिजिटल वालेट मार्फत हुने भुक्तानी २२ अर्ब ६९ करोड १० लाख रुपैयाँले बढेको देखिन्छ।
कारोबार सङ्ख्याका हिसाबले हेर्दा भने जेठसम्म डिजिटल वालेटमार्फत् ३ करोड १२ लाख ६९ हजार २८६ पटक कारोबार भएको पाइएको छ।अघिल्लो महिना अर्थात् जेठमा डिजिट वालेटमार्फत् ३ करोड २५ लाख १ ४ हजार ९६८ पटक कारोबार भएको थियो।
तुलनात्मक रुपमा हेर्दा जेठदेखि असारसम्मको एक महिनाको अवधिमा नेपालमा डिजिटल वालेट मार्फत हुने कारोबार रकममा केही वृद्धि तथा सङ्ख्यामा केही कम भएको प्रस्ट हुन्छ।




