काठमाडौं । जगजित सिंहको गजल सुन्नु भएकै होला- ना उम्र की सीमा हो न जन्मका हो बन्धन। प्रेमको कुनै सीमा नहुने बताउँछ यस गजलले। तर, के साँच्चै प्रेममा उमेरको कुनै सीमा हुँदैन ? यसको जवाफ ‘हो’ पनि हुन्छ, ‘होइन’ पनि।
अस्ट्रेलियाको डेकन युनिभर्सिटीको नयाँ अध्ययनअनुसार यदि पार्टनरहरूबीचको उमेरमा धेरै फरक छ भने त्यसको नकारात्मक असर हुन सक्छ। अंग्रेजीका एक भनाइ छ- ‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर मात्र एक आँकडा हो।
तथापि, सम्बन्धको मामिलामा उमेर कुनै आँकडा मात्र हुन सक्दैन। त्यसको सीधा असर सम्बन्धको वर्तमान र भविष्यमा पर्छ। डेकन युनिभर्सिटीको अध्ययनअनुसार रोमान्टिक या वैवाहिक सम्बन्धमा पार्टनरको उमेरको अन्तर उनीहरूको सोच, जीवनशैली, लक्ष्य र जिम्मेवारीको पनि अन्तरको कारण हुन्छ।
जब सम्बन्धमा साझा कुरा कम हुन्छन्, पार्टनरबीचको सम्बन्धमा पनि दरार उत्पन्न हुन थाल्छ। किनकि, धेरै साझा कुराका कारण वैवाहिक सम्बन्धहरू टिकेका हुन्छन्। उमेरको फराकिलो ग्यापले त्यस्ता साझा कुराहरू पनि कम हुन पुग्छन्।
उमेरको ठूलो अन्तरले विचार, जीवनशैली, सामाजिक दबाब, स्वास्थ्य समस्या, आर्थिक समस्या, सम्बन्धमा चिसोपना, भविष्यको चिन्ता, सम्बन्धमा सक्रियता र निश्क्रियतालगायत समस्याहरू देखापर्न थाल्छन्।
त्यसैले शोधार्थीहरूले पति-पत्नीबीच उमेर अन्तर ३ देखि ५ वर्ष मात्र स्वस्थ हुने सुझाएका छन्। ३ वर्षसम्मको उमेर अन्तरलाई सबैभन्दा आदर्श मानिएको छ।
यस्तै, ३ देखि ५ वर्षको अन्तरलाई स्वस्थ मानिएको छ। यसमा जोडीमध्ये एकजना परिपक्व हुन्छ र हरेक मुश्किल अवस्थालाई सम्हाल्दै अगाडि बढ्न सक्षम हुन्छ।
५ देखि १० वर्षको अन्तरमा पनि सावधानी अपनाउन सक्दा सहजै सम्बन्ध मजबुत राख्न सकिन्छ। तर, १० वर्षभन्दा बढीको उमेर अन्तर सबैभन्दा जटिल मानिएको छ। किनकि, यो अन्तरले २ पार्टनरबीच विचार, जीवनशैली, शारीरिक-मानसिक अवस्था र सामाजिक दबाबजस्ता समस्या उत्पन्न गराउँछ।(नेपाली हेडलाइन)




