काठमाडौं । साउन महिनाभरमा नेपालमा ९० करोड रुपैयाँ हाराहारीको ३८१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनभर नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ८९ करोड ७० लाख २१ हजार रुपैयाँ रहेको छ। उक्त परिमाणको चारपाङ्ग्रे सवारी साधान आयातबापत सरकारले यो अवधिमा ५२ करोड १८ लाख २७ हजार रुपैयाँ भन्सार राजस्व असुल गरेको छ।
भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनीगरी विश्वका तीन देशबाट ती सवारी साधन भित्रिएका हुन्।




