काठमाडौं । नेपाल बैंकर्स संघ (एनबिए) ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) सँगको सहकार्य तथा दक्षिण कोरियाको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डिएफएस) कार्यक्रम आयोजना गरेको छ । डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गरेको सन्दर्भमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका चार सयभन्दा बढी बैंकिङ अधिकारीको सहभागिता थियो ।
कार्यक्रम डिजिटल वित्तीय सेवाहरूको बुझाइमा थप विकास गर्ने, ग्राहकलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्नेे, ग्राहकको चेतनास्तर अभिवृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्नेलगायतका विषयमा केन्द्रित थियो । कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोबार, बढ्दो साइबर ठगी र सोसँग सम्बन्धित बढ्दो चुनौतीलगायत प्रमुख विषय समेटेको थियो । त्यसैगरी सहभागीहरूलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाका पछिल्ला घटनाक्रमको व्यावहारिक पक्षबारेमा जानकारी गराउँदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।(हिमालय टाईम्स)




