काठमाडौं । आज सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा तथा तराई भेगमा हावाहुरी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखाको पश्चिममा सरदर स्थानको उत्तर र पूर्वमा सरदर स्थानको आसापस अवस्थित छ। यस्तै, भारत पश्चिम बंगालको आकाशमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा देखिएको छ।
आज दिउँसो वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै र बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशीको तराई तथा मधेशका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ। यस्तै, सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनीको तराईका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ।




