काठमाडौं । भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेशन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । नयाँ भवनमा निर्माण गरिएको उक्त शल्यक्रिया कक्षको बरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गर्नुभयो ।
आर्थोस्कोपी कार्यशालामा सहभागि हुन नेपालगन्ज आउनुभएको अवसरमा डा.जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाले बताउनुभयो ।
घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय एक युवकको शल्यक्रिया गरेर प्रा.डा.जोशीले सो नयाँ भवनको अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन गर्नुभएको थियो ।
अस्पतालका प्रमुख डा. थापाका अनुसार सो शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा.डा. जोशीले भेरी अस्पतालमै सञ्चालन भइरहेको कार्यशालाका सहभागि हुनुभएका आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गर्नुभएको थियो ।
त्यसक्रममा सर्जनहरुले विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो भने प्रा.डा.जोशीले जवाफ दिनुभएको थियो । करिब एक घण्टा लगाएर सो शल्यक्रिया गरिएको थियो ।
अस्पताल प्रमुख डा. थापाले भन्नुभयो, ‘‘लिगामेन्टको शल्यक्रिया भेरी अस्पतालमा यसअघि पनि भइरहेका थिए । तर अबदेखि शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको छ ।’’
यसैबिच भेरी अस्पतालमा सञ्चालन भइरहेको आर्थोस्कोपी कार्यशालामा देशभरका आर्थोस्कोपी र आर्थोपेडिक सर्जन गरी ७० बढी चिकित्सकहरु सहभागी हुनुभएको छ ।
सो कार्यशालामा उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयमा पनि बिस्तृत छलफल भएको नेपालगन्जका वरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काले बताउनुभयो ।(गोरखापत्र)




