काठमाडौं । सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भइरहेको छ।
सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्तकोशीमा छ लाख ६१ हजार पाँच प्रति सेकेन्ड क्युसेक पानी बगेर ५६ वर्षपछि दोस्राे पटक उच्च रेकर्ड कायम गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ७ बजे छ लाख ५५ हजार ३७० प्रति सेकेन्ड क्युसेक पानी बगेको थियो भने बिहान ९ बजे छ लाख २८ हजार १४५ प्रति सेकेन्ड क्युसेक पानी बगिरहेको छ। सन् १९६८ सालमा कोशीमा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको थियो ।
यसैबिच बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिनुभयो । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उहाँले बताउनुभयो ।(गोरखापत्र)




