काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली थुनामा पठाइएका छन्।
जिल्ला अदालत बागलुङले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। मंगलबार भएको थुनछेक बहसपछि नेपालीलाई न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि पठाएको हो।
सोही मुद्दामा अर्का आरोपी ओमप्रसाद दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा रिहा गरिएको छ। दर्जी नेपालीका दाजु हुन्। तर उनी सहकारीको बोर्ड सदस्य र कर्मचारी भने होइनन्।
सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेपछि नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए। माघमा नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भयो।
नेपालीलाई गत शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याइएर मुद्दा चलाइएको हो। नेपालीले १ हजार ५ सय ४३ जना बचतकर्ताको रकम ठगी गरेको अभियोगमा मुद्दा विचाराधीन छ।
उनीविरुद्ध २०८० असार ३१ गते नेपालीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर भएको थियो। साउन ४ गतेको आदेशले नेपालीबाहेक संचालक र कर्मचारी समेतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
यो मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर थुनामा छन्। भण्डारी, बुढा र किसान २०८० साउनमा थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर ०८० पुसमा कारागार चलान भएका हुन्।
२०८० वैशाख ७ गते तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि नेपाली बेपत्ता थिए।
‘सहकारीमा समस्या आएदेखि नै मैले निजी सम्पती बेचेर भए पनि रकम फिर्ता गर्छु भनिरहेको छु’ सहकारी ठगी अभियोगमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले अदालतलाई दिएको बयानमा भनेका थिए, ‘अहिले पनि मेरो भनाइ त्यही हो। व्यवस्थापनका कारण बचनकर्ताको रकम हिनामिना भएको हो। फिर्ता गर्ने हो।’
उनले पोखरामा पनि इमेजको सहकारी शाखा सञ्चालन गरेका थिए। उक्त शाखाबाट रकम ठगी गरेको आरोप लागेको छ।




