काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’, को उपाधि रूपन्देहीका कृष्ण न्यूरेले जित्नुभएको छ । पछिल्लो समय अमेरिका बस्दै आउनुभएका न्यूरे यो प्रतियोगिताका लागि नेपाल आएर अडिशनमा सहभागी हुनुभएको थियो । ग्राण्ड फिनालेका लागि अन्तिम प्रतिस्पर्धामा छनोट भएका उत्कृष्ट २० सहभागीबाट विजेता घोषित गर्दा ‘टप फाइभ’ छानिएको थियो । विजेता बन्नुभएकाका न्यूरेले नगद पुरस्कार सात लाख रुपैयाँ र विनर ट्रफी हात पार्नुभएको छ भने थाइल्याण्डमा हुने ‘म्यान अफ दि इयर’ ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अबसर पनि प्राप्त गर्नुभएको छ ।
विजेतालाई कार्यक्रमका ब्राण्ड एम्बास्डर तथा निर्णायक अभिनेता अनुपविक्रम शाही, कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, कार्यक्रम निर्देशक संसद् शाह र कार्यकारी निर्देशक स्वीकृति प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैधले पुरस्कारसहित ट्रफी प्रदान गर्नुभएको थियो ।
अन्तिम स्पर्धामा छनोट भएका पाँचजनामा मस्कुलिन म्यान अफ दि इयरको उपाधि उत्सव श्रेष्ठले प्राप्त गर्नुभयो भने माइण्डफूल म्यान अफ दि इयरको उपाधि प्रवीण आचार्यले पाउँदा मोडर्न म्यान अफ दि इयर अभिमन्यू खड्का, मास्टरली म्यान अफ दि इयर अनमोल भण्डारी र म्यानली म्यान अफ दि इयरको उपाधि विजेता बनेका कृष्ण न्युरेले नै हात पार्नुभयो । उत्कृष्ट २० मध्येको सव-क्याटेगोरीमा मस्ट ट्यालेन्ट प्रवेश डंगोल, पब्लिक च्वाइस् अनमोल भण्डारी, मष्ट फोटोजेनिक ऋतिक श्रेष्ठ र वेष्ट वाक विधामा ईश्वर छत्कुली उत्कृष्ट घोषित हुनुभयो ।




