काठमाडौं । नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। सम्झौता पत्रमा हस्ताक्षर गर्दै विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले यस अवसरमा खुसी व्यक्त गरेका छन्।
सुदूरपश्चिम रोयल्सका मालिक शाहले भने, “दीपक विष्ट तेक्वान्दोका सफल खेलाडी मात्र होइन, उनले खेलकुदमा ठूलो योगदान दिएका छन्। उहाँ नयाँ पुस्ताका खेलाडीलाई प्रेरित गर्दै आउनु भएको छ। उहाँको साथ पाउनु हामी सबैका लागि गर्वको कुरा हो।”
दीपक विष्टले दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता र एसियाली खेलकुदमा दुई पटक कास्य पदक जितेका छन्। उहाँले २००८ को बेइजिङ ओलम्पिकमा सहभागीता जनाउन सफल भएका थिए।
विष्टले सुदूरपश्चिम रोयल्सलाई धन्यवाद दिंदै भने, “सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि हो र एनपिएलको आयोजनाले व्यवसायिक क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने सम्भावना छ। यस उद्देश्यमा साथ दिन पाउँदा म खुसी छु।”
सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमटा रहेका छन्।




