काठमाडौं । क्यानाडाले विदेशी विद्यार्थीका लागि दिने अध्ययन अनुमतिमा कटौती गरेको छ। नेपाली विद्यार्थीका लागि उच्च शिक्षाको प्रमुख गन्तव्य बनिरहेको क्यानाडाको यो निर्णयले विद्यार्थीहरू मारमा पर्ने विज्ञहरू बताउँछन्।
परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२३ मा २० हजार ४६५ नेपाली विद्यार्थीले क्यानाडा अध्ययनका लागि अनुमति लिएका थिए। जुन २०२२ को ७ हजार ६ सय ८० को तुलनामा १६६ प्रतिशतले बढी हो। नयाँ नियमले क्यानाडाको सपना बोकेका विद्यार्थीहरू मारमा पर्ने भएका छन्।
१८ सेप्टेम्बरमा त्यहाँका अध्यागमनमन्त्री मार्क मिलरले विदेशी विद्यार्थीलाई दिँदै आएको अध्ययन अनुमतिमा भारी कटौती गर्न लागेको बताएका थिए। सन् २०२४ मा ४ लाख ८५ हजारलाई अनुमति दिइने र २०२५-२०२६ मा करिब ४ लाख ३७ हजार मात्रै अनुमति प्रदान गर्ने सरकारको लक्ष्य छ। सरकारले विदेशी कामदार र स्नातकोत्तर अध्ययनरत विदेशी विद्यार्थीको परिवारलाई दिँदै आएको वर्क पर्मिटमा पनि नयाँ सीमा लगाउन लागेको उनले बताएका थिए।
क्यानाडाले किन घटायो विद्यार्थी भिसा ?
क्यानाडामा आप्रवासीहरूको संख्या उल्लेख्य बढेकाले अस्थायी बसोबास गरिरहेका विदेशीको संख्या घटाउने सरकारको नीति रहेको मिलरले बताएका थिए। उनले भनेका थिए, ‘जब तपाईं क्यानाडाका अस्थायी बासिन्दाहरूको वृद्धिलाई हेर्नुहुन्छ, जुन विगत केही वर्षहरूमा द्रुत रूपमा बढेको हामी देख्न सक्छौं।’
१९ सेप्टेम्बरमा प्रधानमन्त्री जस्टिन ट्रुडोले एक्समा पोस्ट गर्दै अध्ययन अनुमति संख्या घटाउने निर्णयको पुष्टि गरेका थिए। उनले विदेशी विद्यार्थीलाई दिइने अनुमति घटाउने र अर्को वर्ष पनि निरन्तर घट्ने बताएका थिए। खराब नियत भएकाहरूले प्रणालीको दुरूपयोग गरेको भन्दै अनुमतिमा कटौती गरिएको उनको दाबी थियो।
ट्रुडोले भनेका थिए, ‘हामी यस वर्ष विदेशी विद्यार्थी अनुमतिहरू ३५ प्रतिशत कम प्रदान गर्दैछौं र अर्को वर्ष त्यो संख्या अर्को १० प्रतिशतले घट्ने छ। आप्रवासन हाम्रो अर्थतन्त्रको लागि फाइदा हो। तर, जब खराब नियत भएकाहरूले प्रणालीको दुरूपयोग गर्छन् र विद्यार्थीहरूको फाइदा लिन्छन् भने हामी क्र्याक डाउन गर्छौं।’(नेपाली हेडलाईन)




