काठमाडौं । आज विक्रम संवत् २०८१ साल असोज महिनाको २६ गते शनिवार अर्थात यस वर्षको उत्कृष्ट दिन विजया दशमी (टिका) ।
आजका दिन ब्रह्म मुहूर्तमा उठेर स्नानादी सम्पूर्ण कर्मबाट निवृत्त भएर शुद्ध पवित्र वस्त्रहरू धारण गरी पूजा कोठामा प्रवेश गर्नुपर्छ । त्यसपछि सर्वप्रथम गुरु मन्त्रको जप गरेर घरको नित्य पूजालाई सम्पन्न गर्नुहोला ।
घरको नित्य पूजा सम्पन्न भए पश्चात्, जहाँ घटस्थापनादेखि भगवती देवीको आह्वान गरिरहनु भएको छ त्यसै स्थानमा बसेर सामान्य पूजा सामाग्री तयार गर्नुहोला । कर्मपात्रो, पञ्चपात्रो, आचमनि र पञ्चामृतसहित फूलमाला नैवेद्यको तयारी गरेर जब पूजा कोठामा बसिन्छ, त्यसपछि पहिलो नम्बरमा शुद्धि आचमन गर्नुहोला । रितपुर्वकको पुजा बिधि सकेपछी मान्यजनका हातबाट टिका प्रसाद ग्रहण गर्नु होला ।
यस वर्ष देवी विसर्जनको साइत शनिबार ८ बजेर ३३ मिनेटमा रहेको र टीकाको साइत ११ बजेर ३६ मिनेटमा उत्तम रहेको बताईएको छ ।
कारणवस साइतमा टीका लगाउने अनुकूल मिलेन भने भगवतीको टीका प्रसाद लगाउन आजको उत्तम दिनमा अरू कुनै पनि साइत पर्खनु पर्दैन । मनमा भगवतीको स्मरण गरेर कुनै पनि समयमा भगवतीको प्रसाद लगाउन र लगाइदिन सक्नु हुन्छ ।
टिका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्कने र लगाइमाग्ने व्यक्ति पूर्वतिर फर्केर टीका र आशीर्वाद ग्रहण गर्नु पर्छ ।
(शुभ विजया दशमी)




