नेदरल्याण्ड्सका आक्रामक ओपनिङ ब्याटर माइकल लेभिटले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । उनले आउँदो १५ मंसिरदेखि सुरु हुन लागेको एनपिएल काठमाडौं गुर्खाजबाट खेल्ने भएका हुन् ।
काठमाडौंले पहिलो विदेशी खेलाडीको रूपमा लेभिटलाई अनुबन्ध गरेको हो । उनी आक्रामक ब्याटिङ लागि परिचित छन् ।
२१ वर्षीय लेभिटले गत फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा टी–२० आईमा डेब्यू गरेका थिए । उनले हालसम्म नेदरल्यान्ड्सका लागि आठ ओडिआई र १७ टी–२० आई खेलेका छन् । टी–२० आईमा लेभिटको नाममा चार अर्धशतक र एक शतक छ ।
यस्तै, इंग्ल्याण्डका टम मूरिसले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन् । उनी लुम्बिनीमा अनुबन्धित हुने पहिलो विदेशी खेलाडी हुन् ।
२८ वर्षीय मूरिसले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छैनन् । यद्यपि विभिन्न लिग भने खेलिसकेका छन् । मूरिससँग द हन्ड्रेड, लंका प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियरलगायत लिग खेलेको अनुभव छ ।
हालसम्म एनपिएल खेल्ने पक्का भएका विदेशी खेलाडी :
पोखरा एभेन्जर्स : आन्द्रिएस गौस (अमेरिका), एन्डरसन फिलिप (वेस्ट इण्डिज) र बास डे लिडे (नेदरल्याण्ड्स)
कर्णाली याक्स : हुसेन तलत (पाकिस्तान)
लुम्बिनी लायन्स : टम मूरिस (इंग्ल्याण्ड)
सुदूरपश्चिम रोयल्स : ब्रान्डन मक्मलेन (स्कटल्याण्ड)
विराटनगर किंग्स : अकिब इलियास (ओमान)
काठमाडौं गुर्खाज : माइकल लेभिट (नेदरल्याण्ड्स)




