काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ। दशरथ रंगशालामा बुधबार राति भएको फाइनल खेलमा नेपाल २-१ ले बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
महानगरले सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरी टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्र प्रदान गरेको हो। नेपाली टिमका खेलाडी तथा अफिसियललाई कूल २७ लाख ५० हजार बराबरको पुरस्कार प्रदान गरिएको महानगरले जनाएको छ, यद्यपि कार्यक्रममै २५ लाखको डेमो चेक हस्तान्तरण गरिएको थियो।
सम्मान कार्यक्रममा महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीको उपस्थिति थियो। मेयर शाहले नेपाली टिमलाई उपविजेता बनेकोमा बधाई दिंदै सारा नेपाललाई जोड्ने प्रेरणा दिएकोमा धन्यवाद व्यक्त गरे।
उपमेयर डंगोलले पनि टिमलाई उत्साहित गर्दै हारलाई अन्तिम नठानी भविष्यमा राम्रो प्रदर्शन गर्ने प्रेरणा प्रदान गरिन्।
महानगरले २३ खेलाडीका साथै टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक विनोद महर्जन, टिम डक्टर ज्योती राई, फिजियो नविना श्रेष्ठ, पंकज बहादुर शाही, र किट म्यानेजर विकास गुरुङलाई पनि सम्मान गर्यो।




