काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जित्नुभएको छ । चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढा स्वदेश फर्किसक्नुभएको छ । बुढालाई नेपाल एडभेन्चर रनिङ महासंघले स्वागत गर्यो ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहनुभएका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीले सुनमायालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
सुनमायाले अक्टोबर १९ मा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जित्नुभएको थियो । ६० किलोमिटर दूरीको रेस सुनमायाले ५ घण्टा ४० मिनेट ३ सेकेण्डमा पूरा गर्नुभएको थियो । अर्को स्वर्ण सुनमायाले नोभेम्बर २ तारिखमा भएको साइगु १०० केमा जित्नुभयो । सुनमायाले निर्धारित १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा तय गर्नुभएको थियो । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जानकारी दिनुभयो ।
दुई प्रतियोगितासहित सुनमायाले यो वर्ष नौ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाउनुभएको छ । बाँकी सात रेसमध्ये सुनमाया तीनमा पहिलो तथा एकमा तेस्रो स्थानमा रहनुभयो । चीनमा भएको ऐतिहासिक अल्ट्रा ट्रेल रेसमा आफूले कीर्तिमानी गर्न सफल भएको नेपाली अल्ट्रा धावक सुनमाया बुढाले जानकारी दिनुभयो ।




