काठमाडौं । अस्ट्रेलिया अब अन्तरिक्षमा अर्को ठूलो फड्को मार्न तयार भएको छ। अस्ट्रेलियामा आधारित कम्पनी गिल्मर स्पेसले यस हप्ताको सुरुमा देशको पहिलो अर्बिटल लन्च लाइसेन्स प्राप्त गरेको छ। कम्पनी आफ्नो पहिलो रकेट इरिसको परीक्षण उडानको तयारीमा छ।
गिल्मर स्पेसको प्रेस विज्ञप्ति अनुसार केही हप्ताभित्रै लन्चको विशिष्ट मिति घोषणा हुने अपेक्षा गरिएको छ जुन उत्तर क्वीन्सल्याण्डको बोवेन अर्बिटल स्पेसपोर्टबाट प्रक्षेपण गरिनेछ।
गोल्ड कोस्ट, क्वीन्सल्याण्डमा मुख्यालय रहेको गिल्मर स्पेसको स्थापना २०१५ मा भएको थियो। हाल कम्पनीमा २०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनीले आफ्नै अस्ट्रेलियाली आपूर्ति श्रृंखलामार्फत ३०० भन्दा बढी कम्पनीहरूको सहयोगमा आफ्नो स्पेसपोर्ट र लन्च वाहन विकास गरेको स्पेस डटकमे उल्लेख गरेको छ।
इरिस रकेटको पहिलो उडान टेस्टफ्लाइट १ नामक मिशन हुनेछ, जुन गिल्मर स्पेसका लागि प्रक्षेपण प्रणाली र प्रोपल्सन प्रविधि प्रमाणित गर्नका लागि पहिलो चरणको परीक्षण हुनेछ। गिल्मर स्पेसले पहिलो इरिस लन्चको तयारीको लागि धेरै महिना खर्च गरेको छ, जसमा सेप्टेम्बरमा भएको एउटा महत्त्वपूर्ण इन्धन परीक्षण (वेट ड्रेस रिहर्सल) पनि समावेश छ, जुन काउन्टडाउनमा टी-१० सेकेन्डसम्म अघि बढेको थियो।
गिल्मर स्पेसका संस्थापक र सीईओ एडम गिल्मरले यस लन्च अनुमति प्राप्ति अस्ट्रेलियाको स्थानीय अन्तरिक्ष उद्योगका लागि ठूलो उपलब्धि भएको बताएका छन्। उनले भने, “यस अनुमति प्राप्तिसँगै हामी चाँडै नै अस्ट्रेलियामा बनेको रकेटलाई अस्ट्रेलियाको भूमिबाट पहिलो पटक अर्बिटल परीक्षण उडानको प्रयास गर्नेछौं।”
यो परीक्षण उडानले अस्ट्रेलियालाई अन्तरिक्ष प्रक्षेपणमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।(Technology Khabar)




