काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यको उडानमा उच्च हवाई भाडा लिएको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालय एयरलाइन्सले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाएको छ ।
हिमालय एयरलाइन्सले कालोबजारी नियन्त्रणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा १० नोभेम्बर २०२४ देखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ग्रुप टिविए ग्रुप (प्रि पर्चेज)) बुकिङ निलम्बन गरिसकेको जनाएको छ ।
त्यसैगरी सबै ट्राभल एजेन्टलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकेको, ट्राभल एजेन्टलाई हप्तामा कम्तीमा दुईपटक इमेल पठाइरहेको पनि हिमालयले जनाएको छ । कसैले कालोबजारी गरिएको भेटिएमा नेपालको सम्बन्धित कानुनअनुसार कारबाही गरिने पनि स्पष्ट पारेको छ ।
हिमालय एयरलाइन्सका अनुसार वाइ क्लास भाडा नर्मल इकोनमिक क्लासकोे उच्चतम श्रेणीको भाडादर हो । यात्रुलाई सहज बनाउन २१ नोभेम्बर २०२४ देखि सो उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ । त्यसैगरी अत्यधिक भाडादर लिएको पाइएमा एयरलाइन्सलाई सम्पर्क गर्न पनि एयरलाइन्सले आग्रह गरेको छ ।




