काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गर्नुभएको छ । आइतबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो दाबी गर्नुभएको हो । उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू कर्णालीमै र फागुनभित्रै हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरूसँग आग्रह गर्नुभयो ।
उहाँले दशौँ राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भए पनि अब मिति नसर्ने बताउनुभयो । प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । भौतिक पूर्वाधार करिब सकिएको र अहिले पनि खेलाडीहरूको व्यवस्थापन ठूलो चुनौती रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कसले भ्रम सिर्जना गरिदियो, कुन पत्रिकाले निकालिदियो, कर्णालीमा खेल हुँदैन, कर्णालीमा यो हुँदैन भनेर । तपाईंहरूले कुन पत्रिकामा पढ्नुभयो, कहाँ पढ्नुभयो । तपाईंहरूले प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको छ । तपाईंहरू ढुक्क हुनुस् । खेलकुद कर्णालीमै हुन्छ, त्यसमा पनि फागुनमै हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु, पत्रिकाले के लेख्छ, के लेख्दैन ? पत्रिकाको पछाडि नलागिदिन आग्रह गरेँ । किनभने प्रदेश सरकारले लगानी गरेको ठाउँमा खेल हुन्छ । कर्णालीमै हुन्छ, त्यसमा पनि हाम्रो सोच हन्ड्रेड टेन प्रसेन्ट, फागुनभित्रै हुन्छ । एउटा डेट सकियो अब अर्को डेट परिवर्तन हुनेछैन ।’
मन्त्री चौधरीले देश र युवाहरूको चाहना खेलकुदमा सोचेभन्दा बढी आकर्षण रहेको बताउनुभयो । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरूको चाहना पूरा गर्न नसकिने उल्लेख गर्नुभयो ।




