काठमाडौं । विश्वकै शक्तिशाली रास्ट्र अमेरिकामा यही जनवरी २० मा नयां राष्ट्रपतिले सपथ लिदै छन् । बर्तमान राष्ट्रपतिको कार्यकाल बिधिवत सकिदै छ । कार्यकाल सकिनै लाग्दा बर्तमान राष्ट्रपति बाइडेनले इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने योजना बनाएका छन् । अमेरिकी विदेश विभागले इजरायललाई ८ अर्ब डलर अर्थात् ६.४ अर्ब पाउण्ड बराबरका हतियार बेच्ने योजनाबारे कंग्रेस समेतलाई सूचना दिइसकेको बीबीसीले उल्लेख गरेको छ ।
हतियारहरुको खेप पठाउनका लागि सदन अर्थात् सिनेटबाट अनुमोदन गरिनुपर्ने व्यवस्था छ । त्यसरी इजरायललाई बेच्न लागेका हतियारमा नयाँ प्रविधिको शिपमेन्टमा हवाई हमला गर्ने क्षेप्यास्त्र, हेलफायर क्षेप्यास्त्र र तोपखानाका गोला तथा अन्य युद्ध सामग्रीहरु छन् ।
गाजामा युद्धका दौरान मारिएका नागरिकहरुका कारण वाशिंटनले इजरायलका लागि सैन्य समर्थन निलम्बित गर्ने माग समेतलाई खारेज गरिदिएको छ । गएको अगस्तमा मात्रै अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकू विमान र अन्य सैन्य उपकरण बेच्ने अनुमति दिएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले आफुहरु इजरायलको रक्षाका लागि आवश्यक सहयोग जारी राख्ने बताएका छन् । अमेरिका नै हालसम्म इजरायलका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूट (एसआईपीआरआई)का अनुसार २०१९ र २०२३ का बिच इजरायलको प्रमुख पारम्परिक हतियारको आयातमा अमेरिकाको हिस्सा ६९ प्रतिशत थियो ।(एजेन्सी)




