काठमाडौं । दोस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता पुस २६ बाट संखुवासभाको खाँदबारीमा सुरु हुने भएको छ । तीनपोखरी समाज विकास क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सशस्त्र प्रहरी बल पकली कोशी प्रदेशसहित आठ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक झलकलाल कुसुले जानकारी दिनुभयो । प्रतियोगितामा सशस्त्र प्रहरी बल पकली, बुल्स ११ भौसाबारी मोरङ, चुचाचुली स्पोर्टिङ क्लब दमक झापा, खाँदबारी युथ क्लब संखुवासभा सहभागी रहने जनाइएको छ ।
त्यसैगरी संखुवासभाका अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), मकालु फ्रेन्डस क्लब, शीतलपाटी फुटबल क्लब र आयोजक तीनपोखरी समाज विकास क्लब खेलमा सहभागी हुनेछन् । प्रतियोगिता माघ १ सम्म खाँदबारी रंगशालामा सञ्चालन हुनेछ ।




