काठमाडौं । पर्वत क्रिकेट फेस्टिवल २०८१ अन्तर्गत अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आज देखि सशस्त्र प्रहरी बल मैदानमा सुरु हुँदैछ।
ग्रासरुट क्रिकेट र खेलाडीहरूको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ पर्वत क्रिकेट संघले यो प्रतियोगिता आयोजना गरेको हो। पर्वत क्रिकेट संघले माघ ८ गतेदेखि क्रिकेट खेलाडीहरूको विकासका लागि पर्वत क्रिकेट फेस्टिवल २०८१ सुरु गरेको हो।
यसअन्तर्गत माघ ८ देखि ११ गतेसम्म सिनियर एकदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ।
त्यसैगरी, माघ १२ र १३ गते जिल्लामा पहिलो पटक दुई दिने क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो। अब माघ १५ गतेदेखि सुरु हुने अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा जिल्लाका विभिन्न ११ विद्यालयले सहभागिता जनाउने छन्।
नकआउट चरणमा खेलाइने यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
दोस्रो हुने विद्यालयले पनि ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
यो प्रतियोगिताले जिल्लाको ग्रासरुट क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास पर्वत क्रिकेट संघले लिएको छ।




