काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि नेपाल पुलिसले जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको फाइनलमा नेपाल पुलिसले नेपाली सेनाको टोलीलाई हराएको हो ।
प्रतियोगिताको पुरुष ६४० केजी तौल समूहको विजेता पुरस्कार राशी रु. एक लाख र महिला ५८० केजी तौल समूहको विजेता पुरस्कार राशी रु. साठ्ठी हजार नेपाल पुलिसले प्राप्त गरेको छ भने दुवै समूहको उपविजेता नेपाली सेनाले पुरुष ६४० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु. पचास हजार र महिला ५८० केजी तौल समूहको उपविजेता पुरस्कार राशी रु. चालिस हजार प्राप्त गरेको छ ।
२०८१ फाल्गुन १६ गते शुरु भएको प्रतियोगिताको उद्घघाटन माननिय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले डोरी तानेर गर्नु भएको थियो । प्रतियोगितामा पुरुष ६४० केजी तौल समूहमा सात प्रदेश र तीन विभागीय टोली गरेर जम्मा दश टिमको सहभागिता रहेको थियो भने महिला ५८० केजी तौल समूहमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्विनी पाँच प्रदेश तथा तीन विभागीय टोली गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तराष्ट्रिय डोरी तान महासंघ (TWIF) को नियमानुसार लिग फर्म्याटमा खेलाइएको थियो ।




