काठमाडौं । यही फागुनमा हुने भनिएको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने भएको छ ।
आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नुपरेको बताउनुभयो ।
प्रतियोगितामा नेपालका चर्चित क्लबहरू, विभागीय टिम र भारतीय टिमलाई आमन्त्रण गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टिमसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल संघले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाइरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनुभयो ।




