काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित भएको छ । आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंकतालिकाका आधारमा चौथोमै सीमित भएको हो ।
Advertisement
समूह चरणका ६ खेलमध्ये दुई खेलमात्र जितेको नेपालको चार अंक थियो । तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो । यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो ।
नेपालले डबल राउण्ड रोबिनका आधारमा खेलिएको समूह चरणमा युगाण्डा र हङकङलाई एक–एकपटक हराएको थियो भने त्यही टोलीसँग पराजित हुँदा नामिबियासँग दुई पटक नै पराजित भएको थियो ।
नेपाली टोली यसअघि घरेलु मैदानमै भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको त्रिदेशीय शृंखलामा जितविहीन बनेको थियो । अब अप्रिलमा नेपाली टोली भुटानमा गएर खेल्ने तय छ ।




