काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिशुली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । आइतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।
महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी तीन सय खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महिला/पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नुवकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिँढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरवार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ति कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशुली अस्पताल, पञ्चकन्या मन्दिर सिँढी, चारघरे, रनभुवेश्वरी स्कुल, देवीघाट पुल हुँदै पवित्र तीर्थ स्थल, देवीघाट बजार पुगेर समाप्त हुने बताइएको छ ।
इच्छुक खेलाडीले नेपाल एडभेन्चर रनिङ महासंघ सातदोबाटो, नुवकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युथा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत् नाम दर्ता गर्न सक्नेछन् । कार्यक्रमलाई बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, उत्तरगया गाउँपालिका, नुवकोट जिल्ला खेलकुद विकास समिति, रसुवा जिल्ला खेलकुद विकास समितिले सहयोग गरेको प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेश तथा निजी क्षेत्रको सहयोगमा लागत खर्च जुटाउने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला विकास समितिका अध्यक्ष विजय गुरुङ, रसुवा जिल्ला विकास समितिका अध्यक्ष विराज लोप्चन, नेपाल एडभेन्चर रनिङ महासंघका सचिव रविन्द्र थापालगायतको उपस्थिति थियो ।(हिमालय टाईम्स)




