काठमाडौं । पुर्वि पहाडी जिल्ला भोजपुरमा चैत्र सात गते (आज) बाट दोश्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाली सेना र प्रहरी सहित सात वटा टिमले सहभागिता जनाउने छन् ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगितामा नेपाली सेनाको भोजपुरमा रहेको श्रीनयाँ श्रीनाथ गण, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको टिमले सहभागिता जनाउने आयोजका जिल्ला भलिवल संघका महासचिव संग्राम किराँतीले जानकारी दिनुभयो ।
आज देखि नौ गतेसम्म तिन दिन प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको लागि खेल तालिका समेत बनाई सकिएको छ । प्रतियोगिता संचालनका लागि तयारी पनि अन्तिम अवस्थामा पुगेको महासचिव किराँतीले बताउनुभयो ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बिजेता टिमलाई नगद एक लाख २० हजार र उपबिजेतालाई नगद ६० हजार प्रदान गरिने छ । यस्तै सेमी फाइनललिष्टलाई नगद ३० हजार, सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भरलाई पनि नगद चार प्रदान गरिने छ भने सहभागी टिमहरुलाई पनि १० हजार दिईने महासचिव किराँतीले बताउनुभयो ।




