काठमाडौं । नेपाली कराँतेकी कीर्तिमानी खेलाडी एरिका गुरुङले अष्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ । हिमालयन वारियर एरिका शनिबार ६८ केजीमाथि तौल समूहमा विजेता बन्नुभएको नेपाल कराँते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिनुभयो ।
सन् २०२३ मा १९औँ एसियाली खेलकुदमा रजत पदक जित्नुभएको थियो । गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जित्नुभएको थियो । एसियाली खेलकुदमा रजत पदक जित्ने उहाँ पहिलो नेपाली हो । राष्ट्रिय च्याम्पियन रहनुभएकी एरिकाले एसियाली खेलकुद यता भाग लिएका सबै राष्ट्रिय प्रतियोगितामा पदक जित्नुभएको थिएन ।
यसैबीच, कराँते च्यापियनसिपमा नेपालले चार कांस्य पदक पनि जितेको छ । पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ तथा महिला ६१ केजीमुनिमा सविना श्रेष्ठ, ५५ केजीमुनिमा पुष्पका लामा र ५० केजीमुनिमा वर्षा बुढामगरले कांस्य पदक प्राप्त गरेको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी गराउनुभयो । आइतबारसम्म हुने प्रतियोगितामा चार महिला र एक पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गरिरहेका छन् ।




