काठमाडौं । यही अप्रिल ९ देखि २३ तारिखसम्म हङकङमा सञ्चालन हुने अन्तर्राष्ट्रिय टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा लोकेश बम, साहब आलम, बसिर अहमद र नन्दनकुमार यादवले पुनरागमन गर्नुभएको छ ।
यस सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । नेपालले ९ तारिख कतारसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
यस्तै, नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ । लिग चरणका शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । अन्तिममा दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शाहब आलम रहनुभएको छ ।
नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा पर्नुभएको हो भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी-२० आई टोलीमा फर्किनुभएको हो । चार देशीय यो प्रतियोगिता नेपालका लागि आगामी टी-२० विश्वकपको तयारीको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ ।




