काठमाडौं । कास्कीको पोखरामा यही शुक्रबार (चैत २९)देखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा वैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । पोखरा-३ नदीपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताउनुभयो । प्रतियोगिता संयोजकसमेत रहनुभएकी उहाँले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गर्नुभयो । उहाँका अनुसार एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउनेछ ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले तीन हजार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान दुई हजार र महिलातर्फ समान एक हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५०० र महिलातर्फ तीन हजार ५०० तोकिएको छ ।
दुवैतर्फ टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुईजना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले जानकारी गराउनुभयो ।
हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले बताउनुभयो । टिम दर्ता गर्न बुधबार (चैत २७ गते)सम्मको समय दिइएको छ । खेल हेर्न प्यारापिट बनाइएको छ, जसको क्षमता एक हजार २०० देखि १ हजार ५०० सम्मको रहेको रोकाले जानकारी गराउनुभयो ।




