काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ । सन् २०२३-२४ को अर्डर अफ मेरिटका आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशि दुई लाख ५० हजार रहेको छ भने विजेताले नगद ६० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ४२ हजार, तेस्रोले ३२ हजार र चौथोले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार र पहिलो चरणमा हार्ने आठ खेलाडीले छ हजार हात पार्नेछन् । प्रतियोगिताको नियमअनुसार नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६औँ वरीयताका पशुपति शर्मासँग खेल्ने आयोजकले जनाएको छ । नेपाल नम्बर २ गल्फर निरज तामाङ र १५औँ वरीयताका सूर्यप्रसाद शर्माबीच पहिलो चरणको खेल हुनेछ ।
अर्को खेलमा तेस्रो वरीयताका दिनेश प्रजापतीको सामना १४औँ वरीयताका रमेश अधिकारीले गर्नुहुनेछ भने चौथो वरीयताका रवि खड्का र १३औँ वरीयताका टंकबहादुर कार्कीबीच खेल हुनेछ । १२औँ वरीयताका प्रदीपकुमार लामाले पाँचौं वरीयताका सञ्जय लामाको सामना गर्नुहुनेछ । छैटौं वरीयताका जयराम श्रेष्ठ र ११औं वरीयताका तोरण विक्रम शाही, सातौं वरीयताका रामे मगरले १०औं वरीयताका दीपक मगर तथा आठौं वरीयताका धनबहादुर थापाले नवौं वरीयताका भुवनकुमार रोक्कासँग खेल्ने तालिका रहेको छ ।
पहिलो चरणका विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा १८ होलको हुनेछ । फाइनल भने ३६ होलको हुनेछ । क्वाटरफाइनल र सेमिफाइनल बुधबार तथा फाइनल र तेस्रो स्थानका लागि बिहीबार प्रतिस्पर्धा हुनेछ । नेपालमा व्यावसायिक गल्फको वृद्धि र प्रवद्र्धनमा सूर्य नेपाल प्रालि एक महत्वपूर्ण साझेदार रहँदै आएको प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताउनुभएको छ ।




