काठमाडौं । नेपालले चारदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो । हङकङको मोङ कोकमा भएको खेलमा कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपाली टिमले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले आक्रामक सुरुवात गर्नुभएको थियो । भुर्तेलले १९ बलमा चार चौका र तीन छक्कासहित ३८ रन बनाउँदा आसिफ सेखले २१ बलमा चार छक्कासहित ३३ रन बनाउनुभयो ।
यी दुईले पहिलो विकेटका निम्ति ५.४ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात दिलाउनुभएको थियो । कप्तान रोहित पौडेलले नट आउट रहँदै ३७ रन जोड्नुभयो । बसिर अहमद ३० रनमा अविजित रहनुभयो । कतारका मुजिब-उर-रेहमानले दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पा¥यो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गर्नुभयोे । यसैगरी शहजाद जामिलले ३१, मुजिब-उर- रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाउनुभयो ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिनुभयो । नेपाली राष्ट्रिय टिमबाट नन्दनको यो ‘डेब्यु’ खेलसमेत हो । अब नेपालले आज(बिहीबार) कुवेतको सामना गर्नेछ ।




