काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ खोक्लिङ खेलमैदानमा सम्पन्न दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि, हिजो शुक्रबार फाइनल खेलमा वडा नं. ४ लाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै खुर्कोटले आफ्नो पक्षमा पारेको हो।
नियमित समयमा दुबै टोलीले १–१ को बराबरी खेल खेलेकोमा, टाइब्रेकरमा खुर्कोटले ३ गोलको अग्रता बनाउँदै उपाधि जित्न सफल भएको हो ।
समापन कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो। खुर्कोटका अनिल माझीलाई उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडी दुबै उपाधि प्रदान गरियो। वडा नं. ४ का निराजन ठकुरी उत्कृष्ट गोलकर्ता घोषित भए भने वडा नं. ७ का सन्तोष माझीले उत्कृष्ट खेलाडीको उपाधि पाए।
उनीहरूलाई ३–३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी, तृतीय स्थानका लागि भएको खेलमा वडा नं. ३ ले वडा नं. २ लाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।
प्रतियोगिताको विजेता टिमलाई ६२ हजार ५ सय नगद, उपविजेता टिमलाई ३७ हजार ५ सय नगद र तेस्रो हुने टिमलाई २५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।




